Thursday, October 29, 2026

Top 5 This Week

Related Posts

प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौँ, कात्तिक १२ गते । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रतालाई अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई थप व्यवस्थित, जिम्मेवार र उत्तरदायी बनाउनुपर्नेमा जोड दिनुभएको छ। मन्त्रालयमा आयोजित प्रस्तावित ‘आमसञ्चारसम्बन्धी विधेयक, २०८३’ को मस्यौदाउपरको छलफल तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री तिमिल्सिनाले प्रेस स्वतन्त्रता र त्यसको दुरुपयोगबीचको सीमा स्पष्ट पार्ने गरी कानुनी व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले कानुन र सञ्चारमाध्यम लोकतान्त्रिक समाजका आधारस्तम्भ भएको उल्लेख गर्दै यी दुईबीचको सम्बन्धलाई जिम्मेवार ढङ्गले सम्बोधन गर्नुपर्ने धारणा राख्नुभयो। मन्त्री तिमिल्सिनाले पत्रकारिता समाजको सबैभन्दा जिम्मेवार कार्य भएको बताउँदै सञ्चारकर्मीहरूलाई आफ्ना सामग्रीको मूल्याङ्कन गर्दा एक नागरिक र उपभोक्ताको दृष्टिकोणबाट सोच्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “प्रेस स्वतन्त्रता संवैधानिक अधिकार हो, यसलाई कसैले खोस्न सक्दैन। तर, प्रेसले पनि संविधानप्रदत्त अधिकारको दुरुपयोग गर्नु हुँदैन र यसको सम्मान गर्नुपर्छ।” अधिकार प्राप्त हुनु भनेको उत्तरदायी र जवाफदेही हुनु हो भन्दै मन्त्री तिमिल्सिनाले मिडिया र राजनीति दुवै क्षेत्रमा सुधारको आवश्यकता रहेको बताउनुभयो। सरकारले प्रेस स्वतन्त्रता एवं नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्दै राष्ट्रिय आवश्यकताअनुसारको आमसञ्चार कानुन निर्माण गर्न लागेको उहाँले स्पष्ट पार्नुभयो। कानुन निर्माण गर्दा सरोकारवाला सबैको सहभागिता र परामर्श आवश्यक रहेको बताउँदै उहाँले मिडियाले दुरुपयोग गर्न नसक्ने र सरकारले अधिकार हनन गर्न नमिल्ने गरी कानुन तर्जुमा गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। सोही कार्यक्रममा मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलले प्रस्तावित विधेयकको मस्यौदालाई सरोकारवालाको सुझावका आधारमा परिमार्जन गरी थप परिष्कृत बनाइने बताउनुभयो। आमसञ्चार क्षेत्र संवेदनशील र बहुआयामिक भएकाले पर्याप्त छलफलपछि मात्र विधेयकलाई अन्तिम रूप दिइने उहाँको भनाइ थियो। उक्त अन्तरक्रिया कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिहरूले प्रस्तावित मस्यौदामाथि आफ्ना सुझावहरू प्रस्तुत गरेका थिए।

Article source: Gorkhapatra National Daily | Image credit: Gorkhapatra National Daily

Follow us on Instagram: @news.tringlobe
Follow WhatsApp channel: Tringlobe Media WhatsApp Channel
Join a WhatsApp group: Join Nepal WhatsApp group

Follow our Whatsapp channel
Like and follow us on Facebook
News Desk
News Desk
News Desk is the editorial publishing account for Tringlobe Media News, covering breaking news, public affairs, entertainment, community developments and regional stories across Trinidad and Tobago, the Caribbean and internationally.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Popular Articles

Click to listen highlighted text!