काठमाडौँ, कात्तिक १० गते । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो युजेन भोल्जले मङ्गलबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटका अवसरमा नेपाल–जर्मनीबीचको कूटनीतिक सम्बन्ध, विकास सहकार्य, विपद् व्यवस्थापन तथा जनस्तरको सम्बन्ध विस्तारका विषयमा छलफल भएको थियो । सो अवसरमा उपराष्ट्रपति यादवले सन् १९५८ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको सम्बन्ध आपसी विश्वास र सहयोगका आधारमा सुदृढ रहँदै आएको बताउनुभयो । उहाँले नेपालको सामाजिक–आर्थिक विकास, स्वास्थ्य, शिक्षा, ऊर्जा तथा संस्थागत सुदृढीकरणमा जर्मनीले पुर्याएको योगदानको प्रशंसा गर्नुभयो । उपराष्ट्रपति यादवले गत भदौ १० गते रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि जर्मन सरकारबाट प्राप्त राहत तथा आर्थिक सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो । साथै, आगामी पुनर्निर्माण र पुनःस्थापनाका कार्यमा पनि जर्मनीको निरन्तर सहयोग रहने विश्वास उहाँले व्यक्त गर्नुभयो । नेपाल र जर्मनीबीचको जनस्तरको सम्बन्धबारे चर्चा गर्दै उपराष्ट्रपति यादवले बर्सेनि हजारौँ जर्मन पर्यटक नेपाल आउने र उच्च शिक्षा तथा रोजगारीका लागि जर्मनी जाने नेपाली युवाको सङ्ख्या बढ्दै गएको सन्दर्भमा दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने अपेक्षा राख्नुभयो । उहाँले जर्मन राष्ट्रिय दिवसका अवसरमा राजदूत भोल्जमार्फत जर्मन सरकार र जनताप्रति शुभकामना व्यक्त गर्नुभयो । जवाफमा राजदूत भोल्जले नेपाल र जर्मनीबीचको सम्बन्ध घनिष्ठ र विश्वासपूर्ण रहेको बताउनुभयो । उहाँले रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति समवेदना प्रकट गर्दै नेपालले विपत्तिको प्रभावबाट शीघ्र पुनःउत्थान हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।
Article source: Gorkhapatra National Daily | Image credit: Gorkhapatra National Daily