नवलपुरमा व्यावसायिक मौरीपालनबाट वार्षिक १० लाख आम्दानी नवलपुर, कात्तिक २० गते नवलपुरको कावासोती–९, रामनगरका चण्डिकाप्रसाद लामिछाने व्यावसायिक मौरीपालनमार्फत आत्मनिर्भर बन्न सफल हुनुभएको छ। विगत २५ वर्षदेखि यस क्षेत्रमा सक्रिय लामिछानेले हाल वार्षिक आठदेखि १० लाख रुपियाँसम्म आम्दानी गर्दै आउनुभएको छ। विसं २०५८ मा मौरीपालन सुरु गर्नुभएका लामिछानेले सुरुवाती चरणमा तरकारी खेती, फलफूल र नर्सरी व्यवस्थापनलाई पनि सँगसँगै अघि बढाउनुभएको थियो। मौरीका घारको सङ्ख्या वृद्धि भएसँगै उहाँले अन्य काम छाडेर पूर्णकालीन रूपमा मौरीपालनमा केन्द्रित हुनुभएको हो। व्यवसायलाई संस्थागत गर्न उहाँले २०६८ सालमा ‘नेचुरल कृषि फर्म’ दर्ता गर्नुभएको छ भने सहकारीमार्फत पनि यसलाई थप व्यवस्थित बनाउनुभएको छ। हाल उहाँको फर्ममा करिब तीन सय घार मौरी रहेका छन्। मौसम र चरनको उपलब्धताका आधारमा वार्षिक सात टनसम्म मह उत्पादन हुने गरेको उहाँले बताउनुभयो। महको शुद्धता पहिचान गर्ने विषयमा लामिछानेका अनुसार प्रयोगशाला परीक्षण नै सबैभन्दा भरपर्दो माध्यम हो। प्रयोगशालाको सुविधा नभएको अवस्थामा महको स्वाद, वासना र रङमा ध्यान दिनुपर्ने उहाँको सुझाव छ। उहाँले भन्नुभयो, “मह विभिन्न फूलको रसबाट बन्ने भएकाले यसको रङ, स्वाद र वासना चरनअनुसार फरक हुन्छ। मह जम्ने वा नजम्ने आधारमा मात्रै यसको शुद्धता निर्धारण गर्न मिल्दैन।” उपभोक्तामा महको गुणस्तरबारे पर्याप्त जानकारी नहुँदा वास्तविक मौरीपालकले उत्पादन गरेको महले बजारमा उचित पहिचान पाउन नसकेको उहाँको गुनासो छ। मौरीका लागि चरनको उपलब्धता सुनिश्चित गर्न लामिछानेले आफ्ना मौरीका घारहरू सर्लाहीदेखि दाङ र प्युठानसम्म पुर्याउने गर्नुभएको छ। चरनको उपयुक्त व्यवस्थापन र तापक्रमको ख्याल गर्न सके उत्पादन र आम्दानी दुवै बढाउन सकिने उहाँको अनुभव छ। व्यावसायिक मौरीपालनमा अरिङ्गाल, सुलसुले, ढुसीजन्य रोग र छाउरा कुहिने रोग प्रमुख चुनौतीका रूपमा रहेका छन्। यी प्रकोपबाट मौरीलाई जोगाउन सके र प्राविधिक ज्ञान तथा विज्ञको परामर्श समयमै उपलब्ध भए व्यवसायलाई थप व्यवस्थित बनाउन सकिने उहाँ बताउनुहुन्छ। नयाँ उद्यमीहरूलाई व्यवसाय सुरु गर्नुअघि बजारको माग, कच्चा पदार्थको उपलब्धता र दक्ष जनशक्तिबारे पूर्वयोजना बनाउन लामिछानेको सुझाव छ। साथै, मौरीपालन व्यवसायले निरन्तर जिम्मेवारी खोज्ने भएकाले समय व्यवस्थापनमा निकै सजग हुनुपर्ने उहाँको अनुभव छ।
Article source: Gorkhapatra National Daily | Image credit: Gorkhapatra National Daily