काठमाडौँ, कात्तिक २० गते । नेपाल प्रहरीले तिहार, नेपाल संवत् तथा छठ पर्वलाई लक्षित गर्दै ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू गरेको छ । चाडपर्वको समयमा शान्ति सुरक्षा कायम राख्न र सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको हो । प्रहरी प्रधान कार्यालयका अनुसार चोरी, लुटपाट, जुवातास, सट्टेबाजी र झैझगडाजस्ता गतिविधि नियन्त्रण गर्न आवश्यकताअनुसार प्रहरी परिचालन गरिएको छ । सार्वजनिक यातायात, मुख्य बजार क्षेत्र, सीमानाका तथा भन्सार क्षेत्रमा निगरानी र चेकजाँचलाई तीव्र बनाइएको छ । नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले तिहारमा बालिने दियो, बत्ती तथा पटकाबाट हुनसक्ने आगलागी र दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै दमकल तथा विपद् व्यवस्थापन टोलीलाई २४सै घण्टा तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो । उहाँका अनुसार देउसी–भैलो कार्यक्रम स्थानीय प्रशासनले तोकेको समयभित्र मर्यादित रूपमा सञ्चालन गर्न आग्रह गरिएको छ । पटका, आतिशबाजीलगायतका प्रज्ज्वलनशील तथा विस्फोटक पदार्थको गैरकानुनी ओसारपसार, भण्डारण र बिक्रीवितरण नियन्त्रण गर्न सीमानाका र बजार क्षेत्रमा विशेष ‘चेकिङ’ टोली परिचालन गरिएको छ । जुवातास तथा अवाञ्छित गतिविधि हुनसक्ने सम्भावित क्षेत्रमा सादा पोसाकमा प्रहरी खटाइएको छ । साथै, राति अबेरसम्म चर्को आवाजमा डिजे तथा साउण्ड सिस्टम बजाउने कार्यलाई पनि निगरानीमा राखिएको छ । प्रवक्ता काफ्लेले चाडपर्वका अवसरमा आयोजना हुने र्याली, जुलुस तथा शोभायात्राका क्रममा दुई समुदायबीच हुनसक्ने विवाद र झडप न्यूनीकरण गर्न सुरक्षा व्यवस्था थप मजबुत पारिएको बताउनुभयो । मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, जुवातास खेल्ने र घरेलु हिंसा निम्त्याउने प्रवृत्तिलाई नियन्त्रण गर्न प्रहरीले स्थानीय सञ्चारमाध्यममार्फत सचेतनामूलक सूचना प्रवाह गरिरहेको छ । यसका साथै, मेला तथा सार्वजनिक स्थलमा फोहोर व्यवस्थापनका लागि सम्बन्धित पक्षसँग समन्वय गरी सचेतना फैलाउने काम भइरहेको छ । प्रहरीले नागरिकलाई ढुक्क भएर चाडपर्व मनाउन आग्रह गर्दै कुनै पनि शंकास्पद गतिविधि वा दुर्घटना भएमा तत्काल नजिकको प्रहरी कार्यालय वा हटलाइन १०० मा खबर गर्न अनुरोध गरेको छ ।
Article source: Gorkhapatra National Daily | Image credit: Gorkhapatra National Daily