काठमाडौँ, कात्तिक ११ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३३ दशमलव २९ अङ्कले बढेर दुई हजार ६६४ दशमलव ०६ विन्दुमा पुगेको छ । त्यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ३२ अङ्कले बढेर ४८१ दशमलव ७९ मा पुगेको छ । फ्लोट सूचक दुई दशमलव ६२ अङ्कले बढेर १८४ दशमलव ७३ मा र सेन्सेटिभ फ्लोट सूचक दुई दशमलव ३९ अङ्कले बढेर १६३ दशमलव ०९ मा पुगेको छ । आज विभिन्न कम्पनीका एक करोड ९३ लाख ९७ हजार ५४८ कित्ता शेयर सात अर्ब ४५ करोड ८६ लाख ७७ हजार ३६८ रुपैयाँमा खरिद-बिक्री भएका छन् । बजारमा रहेका १३ उपसमूहमध्ये १२ उपसमूहको सूचक बढेको छ भने एक उपसमूह घटेको छ । कारोबारमा आएका कम्पनीमध्ये २४१ कम्पनीको शेयर मूल्य बढेको छ भने ३५ कम्पनीको शेयर मूल्य घटेको छ । साथै, तीन कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । नेप्सेका अनुसार आज बेनी हाइड्रोपावर, बुटवल पावर कम्पनी र सुपर खुदी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यता, प्राइम डिबेञ्चर, गरिमा समृद्धि योजना र सिर्जनशील लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सर्वाधिक गुमाएका छन् ।
Article source: Gorkhapatra National Daily | Image credit: Gorkhapatra National Daily