गोरखाको चुमनुब्री गाउँपालिका–६, चुम्चेतमा गत असोज २५ गते बुढीगण्डकी नदीमा आएको बाढीमा परी बेपत्ता भएका ६ जनाको अवस्था अझै अज्ञात छ। घटना भएको लामो समय बितिसक्दा पनि उनीहरूको कुनै पत्तो नलाग्दा परिवारजनमा चिन्ता र अन्योल बढेको छ। बेपत्ता हुनेहरूमा चुमनुब्री गाउँपालिका–६ का तेजबहादुर गुरुङ, उनकी श्रीमती सोनाम लामा, भोम अजे लामा, सोनामका दाजु कर्मा लामा, छोरा दोर्जे लामा र धार्चे गाउँपालिका–४ का काले गुरुङ रहेका छन्। बाढीले नदी आसपासका बस्तीमा ठूलो भौतिक क्षति पुर्याएको छ। तीव्र बहावका साथ आएको लेदो, ढुंगा र गेग्रानले नदी किनारका संरचना बगाउनुका साथै ठूलो परिमाणमा थुप्रिएको छ। विकट भूगोल र बाढीले पुर्याएको क्षतिका कारण खोजी कार्य निकै चुनौतीपूर्ण बनेको छ। चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार गहिरो खोंच र लेदो थुप्रिएको स्थानमा पैदल पुगेर खोजी गर्न सहज छैन, कतिपय क्षेत्रमा हेलिकप्टरको सहायता आवश्यक पर्ने अवस्था छ। बाढीले घर र गोठका साथै उत्तरी गोरखाका १० वटा पुल बगाइदिएपछि स्थानीयको आवतजावतमा समेत समस्या उत्पन्न भएको छ। प्राकृतिक विपत्तिका कारण बेपत्ता भएका व्यक्तिको अवस्था पत्ता नलाग्दा प्रभावित परिवारहरू मानवीय पीडासँगै गाँस र बासको समस्या भोग्न बाध्य छन्। गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बेपत्ताहरूको खोजी कार्य जारी रहेको जानकारी दिएका छन्। यद्यपि, घटना भएको लामो समय बितिसक्दा पनि उनीहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन।
Article source: Gorkhapatra National Daily | Image credit: Gorkhapatra National Daily