काला पाँडे गोरा पाँडे

गोर्खा राज्यका संस्थापक राजा द्रव्य शाहले विसं १६१६ मा राज्य स्थापना गरेसँगै प्रशासनिक कार्य सञ्चालनका लागि ‘थरघर’ प्रथाको सुरुवात गरेका थिए। यस प्रथाअन्तर्गत अज्र्याल, पाँडे, पन्त, राना, बोहरा र खनाल परिवारलाई राज्यको महत्वपूर्ण जिम्मेवारी दिइएको थियो। पछि राजा राम शाहको पालामा यस प्रथालाई कानुनी मान्यता दिँदै थप व्यवस्थित बनाइयो। थरघरका पदाधिकारीहरूलाई चौतरिया र काजीहरूको भ्रष्टाचार नियन्त्रण गर्ने अधिकारसमेत प्रदान गरिएको थियो। पाँडे वंश गोर्खाको प्रशासनिक र सैन्य संरचनामा सबैभन्दा शक्तिशाली हाँगोका रूपमा स्थापित थियो। गणेश पाँडे गोर्खाका पहिलो काजी थिए। ऐतिहासिक अभिलेखअनुसार गणेश पाँडेपछि वीरुदत्त पाँडे र उनका छोरा भीमराज पाँडेले राज्य सञ्चालनमा भूमिका खेलेका थिए। भीमराजका छोरा कालु पाँडे (वंशीधर पाँडे) पृथ्वीनारायण शाहका विश्वासपात्र सेनापति थिए, जसले नेपाल एकीकरणमा महत्वपूर्ण योगदान दिएका थिए। विसं १८१४ मा कीर्तिपुरको पहिलो युद्धमा कालु पाँडेको निधन भयो। उनका छोराहरूमध्ये वंशराज पाँडेले एकीकरण अभियानको नेतृत्व गरे भने कान्छा छोरा दामोदर पाँडे नेपालको प्रधानमन्त्री (मूलकाजी) बने। पाँडे वंशभित्र ‘काला’ र ‘गोरा’ गरी दुई मुख्य हाँगाहरू थिए। काजी कालु पाँडेको खलकलाई ‘काला पाँडे’ भनिन्थ्यो, जसको वैवाहिक सम्बन्ध बस्न्यात परिवारसँग थियो। अर्कोतर्फ, सरदार तुलाराम पाँडेको खलकलाई ‘गोरा पाँडे’ भनिन्थ्यो, जसको सम्बन्ध थापा वंशसँग नजिक थियो। यी दुई खेमाबीच दरबारिया राजनीतिमा निरन्तर प्रतिस्पर्धा र षड्यन्त्र चलिरहन्थ्यो। दामोदर पाँडेको समय पाँडे वंशको राजनीतिक उत्कर्षको काल थियो। विसं १८५९ मा उनी पुनः मूलकाजी बनेका थिए। उनले इस्ट इन्डिया कम्पनीसँग सन्धि गराएका थिए, तर पछि राजा रणबहादुर शाहको स्वदेश फिर्तीसँगै विसं १८६० मा उनलाई मृत्युदण्ड दिइयो। पाँडे वंशको दोस्रो उदय विसं १८९१ पछि भयो, जब रणजङ्ग पाँडेले दरबारको शक्ति आफ्नो हातमा लिए। उनले भीमसेन थापाको पतनमा निर्णायक भूमिका खेलेका थिए। पाँडे वंशको अन्तिम पतन विसं १९०० मा भयो। माथवरसिंह थापा प्रधानमन्त्री बनेपछि भीमसेन थापाको मृत्यु प्रकरणमा छानबिन सुरु भयो। सोही क्रममा पाँडे पक्षका भारदारहरू करवीर पाँडे, रणदल पाँडे, कुलराज पाँडे र रणबम थापालाई मृत्युदण्ड दिइयो। सोही समयमा रणजङ्ग पाँडेको पनि मृत्यु भयो। विसं १९०३ को कोतपर्वमा दलभञ्जन पाँडेको मृत्युपश्चात् पाँडे वंश नेपालको राजनीतिक शक्ति केन्द्रबाट पूर्ण रूपमा विस्थापित भयो।

Article source: Gorkhapatra National Daily | Image credit: Gorkhapatra National Daily

News Desk: News Desk is the editorial publishing account for Tringlobe Media News, covering breaking news, public affairs, entertainment, community developments and regional stories across Trinidad and Tobago, the Caribbean and internationally.