म्याग्दीमा कालीगण्डकी कोरिडोरमार्फत व्यापारिक गतिविधिमा वृद्धि म्याग्दी, कात्तिक १० गते कोरला नाका सञ्चालनमा आएसँगै कालीगण्डकी कोरिडोरमा व्यापारिक तथा आर्थिक गतिविधि चलायमान हुन थालेको छ। भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवागढी नाका क्षतिग्रस्त भएपछि मालवाहक सवारीसाधनको चाप मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक खण्डमा बढेको छ। यसले गर्दा चीनबाट आयात हुने सामान र विद्युतीय सवारीसाधनको ढुवानी यसै मार्गबाट हुन थालेको छ। दसैँ–तिहारको बिदाको समयमा मुस्ताङ र म्याग्दी भ्रमणमा आएका आन्तरिक तथा बाह्य पर्यटकको चापले पनि यस क्षेत्रको अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको छ। सवारीसाधनको चाप बढेसँगै बेनी, गलेश्वर, पोखरेबगर, भुरुङ–तातोपानी र दाना क्षेत्रका होटल तथा रेस्टुरेन्टको व्यवसाय फस्टाएको छ। गलेश्वरस्थित होटल याकका सञ्चालक बाबुराम आचार्यले बाढीपहिरोका कारण केही समय सुस्ताएको पर्यटन क्षेत्र पुनः लयमा फर्किन थालेको बताउनुभयो। उहाँका अनुसार सडक मर्मतपछि यातायात सहज हुनु र कोरला नाका सञ्चालनमा आउनुले पर्यटन व्यवसायीमा उत्साह थपेको छ। यद्यपि, अन्नपूर्ण गाउँपालिका–३ दानाका होटल व्यवसायी इन्द्रसिंह शेरचनले नाका सञ्चालनले चहलपहल बढाए पनि आर्थिक कारोबार भने अझै अपेक्षाअनुसार नभएको बताउनुभयो। उहाँले बाढीपहिरोको त्रासका कारण गत वर्षको तुलनामा यस वर्ष पर्यटकको सङ्ख्यामा केही कमी आएको उल्लेख गर्नुभयो। व्यापारिक गतिविधि बढेसँगै स्थानीय उत्पादनको मागमा पनि वृद्धि भएको छ। पर्वतको जलजला गाउँपालिका–७ का कृषक दीपक आचार्यका अनुसार होटल तथा रेस्टुरेन्टमा पाहुनाको चाप बढेसँगै स्थानीय तरकारीको माग दोब्बरले बढेको छ। म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले रसुवागढी नाकाको विकल्पमा कोरला नाकाको प्रयोग यस क्षेत्रको आर्थिक विकासका लागि अवसर भएको बताउनुभयो। उहाँले नाकाको प्रभावकारी उपयोगका लागि सरकारले सडक स्तरोन्नति र आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।
Article source: Gorkhapatra National Daily | Image credit: Gorkhapatra National Daily