सुनसरीका किसान धानबालीमा देखिएको रोगकीराको प्रकोपबाट चिन्तित इनरुवा, कात्तिक ९ गते । सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर ९ लगायत जिल्लाका विभिन्न स्थानमा धानबालीमा रोगकीराको प्रकोप देखिएपछि किसानहरू चिन्तित बनेका छन्। धान पसाउने, बाला लाग्ने र पाक्ने समयमा बालीमा सङ्क्रमण देखिएपछि किसानहरू बाली जोगाउन विषादी छर्न बाध्य भएका छन्। इनरुवा–९ का किसान सुरेन्द्र यादवका अनुसार धानबालीमा गभारो, पतेरो र ब्लास्ट रोगको समस्या देखिएको छ। धानको प्रजातिअनुसार पात सुक्ने, पातमा दाग देखिने र बोट कमजोर हुने जस्ता समस्याले उत्पादनमा ह्रास आउने चिन्ता किसानहरूमा छ। बबियाका किसान मुसहरु साहुले बाली भित्र्याउने समय नजिकिँदै गर्दा देखिएको यस प्रकोपले वर्षभरिको मेहनत खेर जाने डर बढाएको बताए। उनले रोग नियन्त्रणका लागि किसानहरू आफ्नै खर्चमा विषादी खरिद गर्न बाध्य भएको जानकारी दिए। दिपेन्द्र यादव, आजाद साह, उमेश यादव र शम्भु यादव लगायतका स्थानीय किसानहरूले रोगकीराको पहिचान, नियन्त्रण र उचित व्यवस्थापनका लागि सम्बन्धित कृषि प्राविधिकहरूले पर्याप्त चासो नदिएको गुनासो गरेका छन्। उनीहरूका अनुसार रोगको सही पहिचान नहुँदा जथाभाबी विषादी प्रयोग गर्नुपरेको र यसले किसानमाथि थप आर्थिक भार बढाएको छ। धान पाक्ने संवेदनशील समयमा प्राविधिक सल्लाह र सहयोग नपाउँदा उत्पादन घट्ने जोखिम बढेको किसानहरूको भनाइ छ। यस विषयमा कृषि प्राविधिक भुवनेश्वर यादवले धानबालीमा देखिएको गभारो, पतेरो, ब्लास्ट र अन्य रोगकीराको प्रकोप नियन्त्रण गर्न समयमै रोगको सही पहिचान गरी उपयुक्त उपाय अपनाउनु आवश्यक रहेको बताएका छन्।
Article source: Gorkhapatra National Daily | Image credit: Gorkhapatra National Daily