तनहुँको पृथ्वी राजमार्गमा सडक भासिएको एक वर्ष बित्दा पनि मर्मत भएन तनहुँको आँबुखैरेनी गाउँपालिका–४ डम्पिङस्थित पृथ्वी राजमार्गको सडक भासिएको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि पुनर्निर्माण हुन सकेको छैन। सडकको सो खण्ड मर्मत नहुँदा यात्रु र चालकले लामो समयदेखि सास्ती खेप्नुपरेको छ। सडक भासिएको स्थानमा एकतर्फी सवारी साधन मात्र सञ्चालन गर्न मिल्ने अवस्था रहेकाले सवारी चाप बढ्दा घण्टौँ जाम हुने गरेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार सवारी आवागमनलाई व्यवस्थित गर्न प्रहरी परिचालन गरी आलोपालो प्रणाली लागू गरिएको छ। दुवैतर्फबाट एकैसाथ सवारी साधन सञ्चालन गर्दा थप समस्या हुने भएकाले प्रहरीले सहजीकरण गरिरहेको उनले बताए। राजधानी काठमाडौँलाई देशको पश्चिमी क्षेत्रसँग जोड्ने यो सडक खण्ड निकै व्यस्त मानिन्छ। सडकको अवस्थाका कारण लामो समयदेखि यात्रुहरूले यात्रामा कठिनाइ भोग्दै आएका छन्। सडक डिभिजन कार्यालय दमौलीका प्रमुख राजीब श्रेष्ठले निर्माण कम्पनीलाई काम छिटो सम्पन्न गर्न ताकेता गरिरहेको जानकारी दिए। उनका अनुसार उक्त सडक खण्डको पाँच वर्षको वारेन्टी अवधिमध्ये अब छ महिना मात्र बाँकी रहेकाले निर्माण कम्पनीले नै मर्मतको जिम्मेवारी लिनुपर्ने हुन्छ।
Article source: Gorkhapatra National Daily | Image credit: Gorkhapatra National Daily