उपचारमा आउँदैनन् एचआईभी सङ्क्रमित, समुदायमा सर्ने जोखिम

बाँकेमा एचआईभी सङ्क्रमित उपचारको पहुँच बाहिर रहँदा जोखिम बढ्यो नेपालगन्ज, कात्तिक ८ गते – बाँकेमा एचआईभी सङ्क्रमण पुष्टि भएका केही व्यक्तिहरू उपचारको पहुँचभन्दा बाहिर रहँदा समुदायमा रोग सर्ने जोखिम बढेको छ। सङ्क्रमण पुष्टि भएपछि पनि उपचारमा नआउने र उपचारको क्रममा सम्पर्कविहीन हुने प्रवृत्तिले एचआईभी नियन्त्रणमा चुनौती थपिएको सरोकारवालाहरूले बताएका छन्। एड हेल्थकेयर फाउन्डेसन (एएचएफ) द्वारा आयोजित स्थानीय परियोजना सल्लाहकार समितिको बैठकमा कार्यक्रम संयोजक सञ्जयकुमार पौडेलले गत आर्थिक वर्षमा सङ्क्रमण पुष्टि भएका १०० जनामध्ये २९ जना उपचारको पहुँच बाहिर रहेको जानकारी दिनुभयो। उहाँका अनुसार उपचारमा नआउनेहरूमध्ये अधिकांश नेपालगन्जका छन्। सङ्क्रमितहरू समाजमा हुने भेदभाव, लज्जा र डरका कारण उपचारमा आउन नचाहेको फाउन्डेसनको निष्कर्ष छ। भेरी अस्पतालमा फाउन्डेसनको सहकार्यमा सञ्चालित एन्टिरेट्रोभाइरल थेरापी (एआरटी) केन्द्रमार्फत हाल ६५८ जनाले नियमित सेवा लिइरहेका छन्। सन् २०१७ मा सेवा सुरु हुँदा ३९० जनाले सेवा लिइरहेकोमा हाल यो सङ्ख्या बढेको छ। यस अवधिमा ९ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ। भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन तथा एचआईभी फोकल पर्सन डा. सङ्केत कुमार रिसालले उपचारको पहुँचमा रहेका सङ्क्रमित आमाबाबुबाट स्वस्थ बच्चा जन्मिने दरमा वृद्धि भएको बताउनुभयो। यद्यपि, अस्पतालमा भाइरल लोड परीक्षण गर्ने मेसिनको अभाव हुँदा सेवा प्रवाहमा कठिनाइ भइरहेको उहाँले उल्लेख गर्नुभयो। भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले सङ्क्रमितहरूको पहिचान गरी उनीहरूलाई उपचारको दायरामा ल्याउन र उपचारको क्रममा सम्पर्कविहीन हुनेहरूको सङ्ख्या घटाउन छुट्टै संयन्त्रको आवश्यकता रहेको बताउनुभयो। सङ्क्रमितहरूप्रति समाजको दृष्टिकोणमा केही सुधार आए पनि सामाजिक डर र लजालुपनका कारण उपचार नगराउने समस्या अझै कायम रहेको सरोकारवालाहरूको भनाइ छ।

Article source: Gorkhapatra National Daily | Image credit: Gorkhapatra National Daily

News Desk: News Desk is the editorial publishing account for Tringlobe Media News, covering breaking news, public affairs, entertainment, community developments and regional stories across Trinidad and Tobago, the Caribbean and internationally.