काठमाडौँ, कात्तिक २४ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गाईपूजाले मानव तथा प्राणी जगत्बीचको सहअस्तित्व, कृतज्ञता र संरक्षणको सांस्कृतिक चेतना अभिवृद्धि गर्ने बताउनुभएको छ । यमपञ्चकअन्तर्गतको गाई तिहारका अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वप्रधानमन्त्री ओलीले वैदिक परम्परादेखि नेपाली लोकजीवनसम्म गाईलाई मातृत्व, करुणा, पोषण र समृद्धिको प्रतीकका रूपमा श्रद्धा गरिँदै आएको उल्लेख गर्नुभएको छ । उहाँले गाईपूजा धार्मिक आस्थामा मात्र सीमित नभई जीव र प्रकृतिसँगको आत्मीय सम्बन्ध, ऋतुसँगै विकसित जीवनपद्धति तथा पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सभ्यताको स्मृतिसमेत भएको बताउनुभएको छ । गाईपूजा मानव तथा प्राणी जगत्बीचको सहअस्तित्वलाई आत्मसात् गर्ने सांस्कृतिक अनुष्ठान भएको उल्लेख गर्दै अध्यक्ष ओलीले गाईपूजा तथा तिहारका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गर्नुभएको छ ।
Article source: Gorkhapatra National Daily | Image credit: Gorkhapatra National Daily