खेतमै तिहार मनाउँदै किसान

दाङ, कात्तिक २३ गते तिहारको रौनकले देशभर उत्साह छाएको भए पनि दाङका किसानहरू भने खेतमा पाकेको धान भित्र्याउने चटारोमा छन्। वर्षभरिको मेहनतबाट उत्पादित अन्नबाली सुरक्षित गर्ने समय र तिहार एकैसाथ परेपछि जिल्लाका तुलसीपुर, घोराहीको नारायणपुर र दंगीशरण क्षेत्रका किसानहरू खेतमै व्यस्त देखिएका हुन्। दंगीशरण गाउँपालिका–३ हेकुलीका किसान अर्जुन थापाले तिहारको समयमा गाउँघरमा उत्सवको माहोल भए पनि आफू धान काट्न र भित्र्याउन व्यस्त रहेको बताउनुभयो। कृषि नै परिवारको मुख्य आयस्रोत भएकाले अन्न भित्र्याउनुलाई उहाँले तिहारजत्तिकै महत्त्वपूर्ण मान्नुहुन्छ। थापाले भन्नुभयो, “अहिले तिहार र धान भित्र्याउने समय सँगसँगै परेको छ। यी दुवै हाम्रा लागि महत्त्वपूर्ण छन्। त्यसैले यसपालिको तिहार खेतमै मनाउँदै छु।” उहाँका अनुसार वर्षभरि परिवारको पेट पाल्ने अन्न सुरक्षित गर्नु अहिलेको पहिलो प्राथमिकता हो। त्यस्तै, दंगीशरण गाउँपालिका–५ पोतलीका जिवराज चौधरीको अवस्था पनि उस्तै छ। महिनौँको मेहनतपछि तयार भएको बाली समयमै घर भित्र्याउन पाउनु नै आफूहरूका लागि ठूलो चाडपर्व भएको उहाँको भनाइ छ। तिहारको समयमा अन्य मानिसहरू घरमा उत्सव मनाइरहँदा किसानहरू भने खेतमा पसिना बगाइरहेका छन्। उनीहरूका लागि पाकेको धान घरको आँगनमा भित्रिनु नै यस वर्षको तिहारको वास्तविक खुसी बनेको छ।

Article source: Gorkhapatra National Daily | Image credit: Gorkhapatra National Daily

News Desk: News Desk is the editorial publishing account for Tringlobe Media News, covering breaking news, public affairs, entertainment, community developments and regional stories across Trinidad and Tobago, the Caribbean and internationally.