आगामी निर्वाचनका लागि मतदान केन्द्र पुनरावलोकनबारे छलफल

पुरुषोत्तम सुवेदी, पश्चिम नवलपरासी – कात्तिक २१ गते आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मतदातामैत्री बनाउन पश्चिम नवलपरासीमा मतदान केन्द्रको पुनरावलोकन प्रक्रिया अघि बढाइएको छ। मतदाताको सहज पहुँच, सुरक्षा र आवश्यक सुविधालाई ध्यानमा राख्दै मतदान केन्द्र स्थानान्तरण, गाभ्ने वा नयाँ थप गर्ने विषयमा छलफल सुरु गरिएको छ। विशेषगरी दुर्गम तथा भौगोलिक रूपमा विकट क्षेत्रमा मतदाताले मतदान गर्न घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिले भोग्नुपर्ने कठिनाइ र सुरक्षा चुनौतीलाई ध्यानमा राखेर मतदान केन्द्रको पुनरावलोकन गरिँदैछ। यसैक्रममा पश्चिम नवलपरासीमा राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालासँग छलफल गरिएको छ। जिल्ला प्रशासन कार्यालयमा आयोजित छलफलमा जिल्लामा क्रियाशील राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका पदाधिकारी तथा सुरक्षा निकायका प्रमुखहरू सहभागी भए। छलफलमा मतदातालाई पायक पर्ने र सहज पहुँच भएका स्थानमा मतदान केन्द्र कायम गर्ने, अपायक तथा असुविधाजनक स्थानमा रहेका केन्द्र स्थानान्तरण गर्ने र मतदाता सङ्ख्या बढी भएका स्थानमा आवश्यकताअनुसार नयाँ मतदान केन्द्र थप गर्ने विषयमा परामर्श गरिएको छ। मतदान केन्द्र पुनरावलोकनका क्रममा स्थानीय भूगोल, यातायातको पहुँच, सुरक्षा अवस्था, मतदाताको सङ्ख्या तथा मतदानस्थलमा उपलब्ध भौतिक सुविधालाई समेत आधार बनाइने बताइएको छ। सम्बन्धित निकाय तथा स्थानीय प्रतिनिधिले आफ्नो टोल, वडा वा गाउँमा मतदान केन्द्र अपायक परेको, असुरक्षित रहेको वा मतदातालाई असुविधा भएको अवस्था भए समयमै समस्या र सुझाव उपलब्ध गराउन सर्वसाधारणलाई आग्रह गरेका छन्। मतदान केन्द्रको पुनरावलोकनबाट मतदातालाई सहज रूपमा मतदान गर्ने वातावरण निर्माण हुनुका साथै निर्वाचन प्रक्रियालाई थप व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Article source: Gorkhapatra National Daily | Image credit: Gorkhapatra National Daily

News Desk: News Desk is the editorial publishing account for Tringlobe Media News, covering breaking news, public affairs, entertainment, community developments and regional stories across Trinidad and Tobago, the Caribbean and internationally.