काठमाडौँको असन र इन्द्रचोकको बीचमा रहेको सिद्धिदास मार्गमा अवस्थित ‘तिलङ्गा औषधालय’ करिब २५० वर्ष पुरानो इतिहास बोकेको एक ऐतिहासिक संस्था हो। ७० वर्षीय वासुकृष्ण वैद्यले सञ्चालन गर्दै आएको यो औषधालय नेपालको चिकित्सा इतिहास र राज्य एकीकरणको अभियानसँग प्रत्यक्ष जोडिएको छ। यस औषधालयको नाम र स्थानको सम्बन्ध नेपाल एकीकरणका प्रधानसेनापति अभिमानसिंह बस्नेतसँग छ। बस्नेतले केलटोलमा निर्माण गरेको कलात्मक भवनमा उनी र उनका ७३ जना सैनिकहरू बस्ने गर्दथे। भवनको मोहडामा कुँदिएका सैनिकका आकृतिहरूका कारण यसलाई ‘तिलङ्गा घर’ भनिन्छ। विसं १८३३ मा निर्माण गरिएको यो भवनलाई अभिमानसिंह बस्नेतले ‘मानमन्दिर’ को रूपमा समेत चिनाएका थिए। ऐतिहासिक तथ्यअनुसार, पृथ्वीनारायण शाहको पालादेखि नै युद्ध मैदानमा घाइते सैनिकहरूको उपचारका लागि वैद्यहरू खटिने गर्दथे। राजा प्रतापसिंह शाहको पालादेखि उक्त तिलङ्गा घरमा औषधालय स्थापना गर्न अनुमति दिइएको थियो। वासुकृष्ण वैद्यका पुर्खा पाटनका मल्ल राजाहरूका मूल वैद्य थिए, जसले पुस्तान्तरण हुँदै आएको आयुर्वेदको ज्ञान र सीपलाई निरन्तरता दिँदै आएका छन्। वासुकृष्ण वैद्य यस औषधालयका आठौँ पुस्ताका सञ्चालक हुन्। औषधालयमा अहिले पनि परम्परागत विधिबाट तयार पारिएका आयुर्वेदिक औषधिहरू उपलब्ध छन्। वासुकृष्ण वैद्य बिहान १० बजेदेखि बेलुकी ८ बजेसम्म पसलमा बसी बिरामीहरूलाई निःशुल्क स्वास्थ्य परामर्श दिन्छन्। यद्यपि, समयक्रमसँगै औषधी निर्माणमा प्रयोग हुने कच्चा पदार्थको मूल्यवृद्धि र एलोप्याथिक औषधिको सहज उपलब्धताका कारण यो व्यवसाय खुम्चिँदै गएको छ। कुनै समय १८ फिट लम्बाइमा फैलिएको औषधालय अहिले सानो सटरमा सीमित भएको छ। यस औषधालयले नेपालको एकीकरणका क्रममा घाइते सैनिकहरूको उपचारमा प्रयोग गरिएका महानारायणी तेल, व्रणवन्ध मल्हम र जीवनारायण तेलजस्ता औषधिहरूको निर्माण परम्परालाई जोगाएर राखेको छ। वासुकृष्ण वैद्यका अनुसार, नयाँ पुस्तामा यस पेसाप्रति आकर्षण कम देखिएको छ। ऐतिहासिक महत्त्व बोकेको यो औषधालय र यससँग जोडिएको परम्परागत ज्ञानलाई जोगाउन स्थानीय तथा सङ्घीय सरकारबाट संरक्षणको आवश्यकता रहेको सरोकारवालाहरू बताउँछन्।
Article source: Gorkhapatra National Daily | Image credit: Gorkhapatra National Daily