जनकपुरधाम, कात्तिक २० गते । मधेश प्रदेशको राजधानी जनकपुरधाममा बालविवाह अन्त्यका लागि विद्यमान कानुनी तथा नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले प्रदेशस्तरीय सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। बालविवाह विरुद्धको प्रदेशस्तरीय सञ्जाल, मधेश प्रदेशको आयोजनामा शुक्रबार आयोजित उक्त कार्यक्रममा बालविवाह न्यूनीकरणका लागि प्रदेश र स्थानीय तहमा भइरहेका प्रयास, कानुनी व्यवस्थाको कार्यान्वयन अवस्था र आगामी रणनीतिका विषयमा छलफल गरिएको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले बालविवाह अन्त्यका लागि निर्माण गरिएका कानुन र नीतिहरू व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा समस्या अझै चुनौतीका रूपमा रहेको औंल्याएका थिए। वक्ताहरूले बालविवाह रोकथाम, पीडितको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न सरकारी निकाय, नागरिक समाज र समुदायबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिएका थिए। साथै, तीनै तहका सरकारको भूमिका, पर्याप्त बजेटको व्यवस्था, जनचेतना अभिवृद्धि र समुदायस्तरमा निगरानी संयन्त्रको विकास गर्नुपर्ने विषयमा उनीहरूले धारणा राखेका थिए। इन्सेक मधेश प्रदेश प्रमुख राजु पासवानले मधेश प्रदेशका दलित तथा विपन्न परिवारमा बालविवाहको दर बढी रहेको उल्लेख गर्दै कानुनी कारबाहीसँगै सामाजिक रूपान्तरणका अभियानलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। उहाँले बालविवाह सामाजिक, सांस्कृतिक, आर्थिक तथा शैक्षिक अवस्थासँग जोडिएको बहुआयामिक समस्या भएको बताउनुभयो। महिला अधिकारकर्मी जमुना भूजेलले मधेश प्रदेश सरकारको ‘छोरी बिमा कार्यक्रम’ले बालविवाह न्यूनीकरणमा केही हदसम्म मद्दत पुर्याएको भन्दै उक्त कार्यक्रमलाई थप प्रभावकारी बनाउन माग गर्नुभयो। लाइफ नेपालकी शादिदा खातुनले बालविवाहका घटनामा केही कमी आए पनि पछिल्लो समय प्रदेशमा भागी विवाहका घटनामा वृद्धि भएको जानकारी दिनुभयो। कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद्का मधेश प्रदेश संयोजक सञ्जीव साहले बालविवाह न्यूनीकरणका लागि बनेका कानुन र तिनको कार्यान्वयनको अवस्थाबारे प्रस्तुति दिनुभएको थियो। बालविवाह विरुद्धको प्रदेशस्तरीय सञ्जालका कार्यक्रम अधिकृत अर्जुन साहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो।
Article source: Gorkhapatra National Daily | Image credit: Gorkhapatra National Daily