सूर्यविनायक वडा ९ को प्रशासनिक भवनको उद्घाटन

भक्तपुरमा सूर्यविनायक नगरपालिका-९ को नयाँ प्रशासनिक भवन उद्घाटन भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ९ को नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नङखेलमा निर्माण गरिएको उक्त भवनको बिहीबार नगरपालिकाका प्रमुख बासुदेव थापाले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो। नयाँ भवनबाट बुधबारदेखि नै वडा कार्यालयले नियमित सेवा प्रवाह सुरु गरिसकेको छ। दुई रोपनी ११ आना क्षेत्रफलमा फैलिएको सो भवन निर्माणका लागि कुल दुई करोड ३६ लाख रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ। आफ्नै सुविधासम्पन्न भवन निर्माण भएपछि सेवा प्रवाहमा सहजता आउने अपेक्षा गरिएको छ। उद्घाटन कार्यक्रममा नगर प्रमुख थापाले २०७४ सालमा आफू निर्वाचित हुँदा नगरपालिकामा प्रशासनिक संरचना, कर्मचारी, ऐन-कानुन र भौतिक पूर्वाधारको अभाव रहेको स्मरण गर्दै हाल ती समस्या क्रमिक रूपमा समाधान हुँदै गएको बताउनुभयो। उहाँले सेवाग्राहीले तिरेको करको सदुपयोग गर्दै संस्थागत पूर्वाधार विस्तारलाई प्राथमिकता दिइएको स्पष्ट पार्नुभयो। नगरपालिकाका प्रवक्ता एवं वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले पछिल्लो साढे नौ वर्षको अवधिमा सूर्यविनायक नगरपालिकाले पूर्वाधार विकासमा उल्लेख्य प्रगति गरेको बताउनुभयो। उहाँले खानेपानी, सडक, भवन र पुल निर्माणका कारण नगरपालिका सुविधासम्पन्न सहरका रूपमा विकास भइरहेको उल्लेख गर्नुभयो। वडा नं. ९ का वडाध्यक्ष भगवान खत्रीले यसअघि साँघुरो भवनबाट सेवा प्रवाह गर्दा कर्मचारी र सेवाग्राही दुवैलाई असहज भएको बताउँदै नयाँ भवनबाट सेवा सुरु हुनु वडाका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। दशवटा वडा रहेको सूर्यविनायक नगरपालिकाले यसअघि नै वडा नं. ५ को कटुञ्जेमा अत्याधुनिक प्रशासनिक भवन निर्माण गरी सेवा प्रवाह सुरु गरिसकेको छ।

Article source: Gorkhapatra National Daily | Image credit: Gorkhapatra National Daily

News Desk: News Desk is the editorial publishing account for Tringlobe Media News, covering breaking news, public affairs, entertainment, community developments and regional stories across Trinidad and Tobago, the Caribbean and internationally.